1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

चक्रवात ‘अर्नब’को प्रभाव बिहीबारदेखि, भारी वर्षा र हिमपातको जोखिम

६७२पाठक संख्या
१३वास्तविक शेयर
७९एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ८ views
समाचार सुन्नुहोस्

चक्रवात ‘अर्नब’को प्रभाव बिहीबारदेखि, भारी वर्षा र हिमपातको जोखिम

काठमाडौं, ११ कात्तिक । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावका कारण नेपालमा बिहीबारदेखि मौसम प्रभावित हुने भएको छ। मौसम पूर्वानुमानअनुसार शुक्रबार र शनिबार देशका विभिन्न स्थानमा भारी वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार चक्रवातको अप्रत्यक्ष प्रभावले देशका विभिन्न भागमा मौसम बदली हुनुका साथै वर्षा, मेघगर्जन र चट्याङसहित प्रतिकूल मौसम सिर्जना हुन सक्नेछ। विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पनि वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

चक्रवातको प्रभावका कारण उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्न सक्ने भएकाले पर्यटक, पदयात्री तथा पर्वतारोहणमा जानेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। मौसम प्रतिकूल हुने अवधिमा जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न र यात्रामा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा बस्न सुझाव दिइएको छ।

सम्भावित भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, तल्लो तटीय क्षेत्रमा डुबान हुने र पहाडी क्षेत्रमा पहिरो जाने जोखिमसमेत रहन्छ। त्यसैले नदी किनार, बाढी तथा पहिरोको जोखिम भएका क्षेत्र र कमजोर संरचनामा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आवश्यक छ।

यसैगरी, वर्षाले धानबाली काट्ने र भित्र्याउने काममा असर पार्न सक्ने भएकाले किसानलाई पाकेको धान तथा काटेर सुकाउन राखिएको बाली सुरक्षित स्थानमा राख्न आग्रह गरिएको छ। अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न र सडक तथा हवाई यातायातसम्बन्धी अद्यावधिक सूचना लिएर मात्र यात्रा गर्नसमेत सुझाव दिइएको छ।

सम्बन्धित निकायले मौसमको अवस्थाअनुसार आवश्यक पूर्वतयारी गर्न तथा सम्भावित जोखिम न्यूनीकरणका उपाय अपनाउन आग्रह गरेका छन्। मौसमको पूर्वानुमान परिवर्तन हुन सक्ने भएकाले नागरिकलाई जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने आधिकारिक सूचना नियमित रूपमा अवलोकन गर्न अनुरोध गरिएको छ।

सम्भावित जोखिमबाट जोगिन समयमै सावधानी अपनाउनुका साथै विपद्को संकेत देखिएमा सुरक्षित स्थानमा जान र सम्बन्धित निकायको निर्देशन पालना गर्न आवश्यक छ।

वान समाचार
यस समाचारका रिपोर्टर

वान समाचार

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १९७ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।