1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

गणतन्त्रको विकल्प राजतन्त्र होइन, उन्नत गणतन्त्र हो : रिजवान अन्सारी

४३२पाठक संख्या
१वास्तविक शेयर
४३एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ८ views
समाचार सुन्नुहोस्

गणतन्त्रको विकल्प राजतन्त्र होइन, उन्नत गणतन्त्र हो : रिजवान अन्सारी

महोत्तरी, ३० असोज। नेपाल संघीय समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले सुशासन र समृद्धिको नाममा जनताको अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता र संविधानमाथि प्रहार गर्ने प्रयास भए सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

महोत्तरीको जलेश्वरस्थित उद्योग वाणिज्य संघको हलमा आयोजित पार्टीको जिल्ला कार्यकर्ता भेला तथा जिल्ला कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै अन्सारीले जनताको अधिकार संकुचित गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका हुन्।

भदौ २३ गतेको जेनजी आन्दोलनको स्मरण गर्दै उनले लोकतान्त्रिक उपलब्धि कमजोर पार्ने प्रयास भए अझ ठूलो जनआन्दोलन हुन सक्ने बताए। “यदि सुशासन र समृद्धिको नाममा जनताको अधिकार खोस्ने, गणतन्त्र कमजोर बनाउने, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार गर्ने तथा संविधानलाई पछाडि फर्काउने प्रयास हुन्छ भने जेनजी आन्दोलन त केवल ट्रेलर मात्र हुनेछ,” उनले भने।

अन्सारीले गणतन्त्रको विकल्प राजतन्त्र नभई उन्नत गणतन्त्र भएको स्पष्ट पारे। “नेपाल अगाडि बढिसकेको छ। अब नेपाल फेरि पछाडि फर्किँदैन। गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, गणतन्त्रको विकल्प उन्नत गणतन्त्र हो,” उनले भने।

गणतन्त्रलाई शासन प्रणाली परिवर्तनमा मात्र सीमित नराखी समानता, सामाजिक न्याय, जनताको अधिकार र राज्यका निकायमा समावेशी सहभागिता सुनिश्चित गर्ने व्यवस्थाका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो। भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा सुधार र आर्थिक विकास आवश्यक भए पनि त्यसका नाममा नागरिक स्वतन्त्रता तथा लोकतान्त्रिक अधिकार कमजोर बनाउन नहुने उनले बताए।

अन्सारीले मधेशी, दलित, आदिवासी जनजाति, मुस्लिम, थारू, महिला, श्रमिक, किसान तथा आर्थिक र सामाजिक रूपमा पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित गर्न बलियो राजनीतिक संगठन आवश्यक रहेको उल्लेख गरे। पार्टीको संगठन विस्तारलाई सदस्यता वृद्धिमा मात्र सीमित नराखी जनताका समस्या समाधान र सामाजिक न्याय स्थापनासँग जोड्नुपर्ने उनले बताए।

उनले संघीयताको मर्मअनुसार प्रदेश तथा स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन, आवश्यक स्रोतसाधन उपलब्ध गराउन र प्रहरी समायोजनलगायत संघीयता कार्यान्वयनका बाँकी काम टुंग्याउन सरकारसँग माग गरे। राज्यका निकायमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा पनि उनले जोड दिए।

सरकारको मूल्यांकन भाषण र नाराका आधारमा नभई जनताको जीवनमा आएको परिवर्तनबाट हुनुपर्ने अन्सारीको धारणा थियो। बेरोजगारी, महँगी, युवाको विदेश पलायन, किसानका समस्या र आर्थिक असमानता समाधान गर्नु सरकारको प्रमुख दायित्व भएको उनले बताए।

कार्यक्रममा अग्रगामी राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले किसान, श्रमिक, युवा, महिला र उत्पीडित समुदायका मुद्दालाई प्राथमिकता दिनुपर्ने बताए।

जलेश्वरमा आयोजित भेलाले महोत्तरीमा पार्टीको संगठन विस्तार र जिल्ला तहको संरचना सुदृढ गर्ने विषयलाई प्राथमिकता दिएको छ। अन्सारीले नवगठित जिल्ला कमिटीका नेता तथा कार्यकर्तालाई गाउँ, नगर, वडा र टोलसम्म संगठन विस्तार गर्दै जनताको विश्वास जित्ने गरी काम गर्न आग्रह गरे।

वान समाचार
यस समाचारका रिपोर्टर

वान समाचार

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १९७ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।