काठमाडौं, २७ असोज । मधेशलाई केन्द्रमा राखेर राष्ट्रिय अभियानका रूपमा अघि बढाइएको ‘हुंकार मधेश’ ले पहिलो चरणमा २१ वटा विभाग गठन गर्दै विभागीय प्रमुखहरूको जिम्मेवारी तोकेको छ। संगठनले विभिन्न क्षेत्रका विज्ञ तथा कम्तीमा स्नातक उत्तीर्ण व्यक्तिलाई विभागीय प्रमुखको जिम्मेवारी दिएको जनाएको छ।
हुंकार मधेशका केन्द्रीय अभियानतर्फबाट प्राप्त विवरणअनुसार विभागीय प्रमुखहरूलाई जिम्मेवारी सम्हालेको सात दिनभित्र आफ्नो विभागको कार्ययोजना, कार्यविधि तथा आगामी सयदिने कार्यक्रमको कार्यसूचीको खाका तयार गरी पेश गर्न निर्देशन दिइएको छ।
हुंकार मधेशले २०८३ असोज ९ गते औपचारिक रूपमा अभियान घोषणा गरेको थियो। अभियानले मधेशका सवाललाई राष्ट्रिय बहससँग जोड्ने, सामाजिक न्याय, सुशासन, समृद्धि, संघीयता र मधेश जोड्ने अभियानलाई प्राथमिकतामा राखेको जनाएको छ।
अभियानले दशैंलगत्तै झापादेखि कञ्चनपुरसम्म सयदिने ‘हुलाकी यात्रा’ सुरु गर्ने कार्यक्रमसमेत तय गरेको छ। पूर्वदेखि पश्चिमसम्म हुलाकी राजमार्ग आसपासका क्षेत्रलाई जोड्दै अभियानका गतिविधि सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ।
२१ विभागमा कसलाई कुन जिम्मेवारी ?
हुंकार मधेशले पहिलो चरणमा तोकेका २१ विभागीय प्रमुखको सूचीअनुसार सम्वाद तथा समन्वय विभागको प्रमुखमा राम कुमार कश्यपलाई जिम्मेवारी दिइएको छ। अभियानका विभिन्न पक्ष तथा सरोकारवालाबीच समन्वय गर्ने जिम्मेवारी उनको हुनेछ।
त्यस्तै प्रचारप्रसार तथा प्रकाशन विभागको प्रमुखमा केशव कुमार झालाई जिम्मेवारी दिइएको छ। अभियानका गतिविधिको प्रचारप्रसार तथा प्रकाशनसम्बन्धी काम उक्त विभागले हेर्नेछ।
संगठन विभागको प्रमुखमा कौशलेन्द्र कौशल चयन भएका छन्। संगठन विस्तार तथा संरचना निर्माणको जिम्मेवारी उनलाई दिइएको छ।
कानुन तथा न्याय विभागको प्रमुखमा रत्नेश्वर सनातनीलाई जिम्मेवारी दिइएको छ। कानुनी तथा न्यायसम्बन्धी विषयमा विभागले काम गर्नेछ।
त्यस्तै आईटी तथा कार्य मूल्यांकन विभागको प्रमुखमा रोशन कुमारलाई जिम्मेवारी दिइएको छ। सूचना प्रविधिसँग सम्बन्धित काम तथा अभियानका गतिविधिको कार्यसम्पादन मूल्यांकन गर्ने जिम्मेवारी उक्त विभागलाई दिइएको छ।
बौद्धिक तथा पेशाकर्मी विभागको प्रमुखमा डा. एन. एन. भारद्वाज चयन भएका छन्। बौद्धिक तथा विभिन्न पेशागत क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई अभियानसँग जोड्ने जिम्मेवारी विभागले पाउनेछ।
आर्थिक विभागको प्रमुखमा सचिदानन्द यादवलाई जिम्मेवारी दिइएको छ भने अनुशासन विभागको प्रमुखमा राजाराम यादव चयन भएका छन्।
त्यसैगरी प्रशिक्षण तथा नीति अनुसन्धान विभागको प्रमुखमा मनोहर मानवलाई जिम्मेवारी दिइएको छ। प्रशिक्षण, नीति निर्माण तथा अनुसन्धानसम्बन्धी काम उक्त विभागले गर्नेछ।
सहकारी, कर्पोरेट तथा उद्यमशीलता विभागको प्रमुखमा कृष्ण कुमार चयन भएका छन्। सहकारी, निजी क्षेत्र तथा उद्यमशीलतासँग सम्बन्धित विषयमा विभागले काम गर्नेछ।
स्वयंसेवी सुरक्षा दस्ता विभागको प्रमुखमा उमेश सिंहलाई जिम्मेवारी दिइएको छ। युवा तथा विद्यार्थीलाई अभियानमा जोड्ने उद्देश्यसहित युवा तथा विद्यार्थी विभागको प्रमुखमा पंकज आनन्दलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै वैदेशिक रोजगार विभागको प्रमुखमा मनिष कुमार र सूचना तथा सञ्चार विभागको प्रमुखमा पुष्पा प्रिया चयन भएका छन्।
संघीय मामिला विभागको प्रमुखमा मधुमाया यादवलाई जिम्मेवारी दिइएको छ भने शिक्षा तथा संस्कृति विभागको प्रमुखमा इन्द्रजित साफी चयन भएका छन्।
अभियानले आर्थिक तथा व्यावसायिक क्षेत्रलाई समेत प्राथमिकतामा राख्दै उद्योग, व्यापार, वाणिज्य तथा व्यवसाय विभागको प्रमुखमा सन्दीप त्रिपाठीलाई जिम्मेवारी दिएको छ।
त्यस्तै नागरिकता तथा भूमिहीनका समस्या समाधानका लागि छुट्टै विभाग गठन गर्दै नागरिकता तथा भूमिहीन समस्या समाधान विभागको प्रमुखमा अंगद यादवलाई जिम्मेवारी दिइएको छ।
कृषि विकास तथा अनुसन्धान विभागको प्रमुखमा राम किशुन नायक चयन भएका छन्। कृषि क्षेत्रको विकास तथा अनुसन्धानसम्बन्धी काम उक्त विभागले गर्नेछ।
त्यसैगरी आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धानलाई अभियानसँग जोड्ने उद्देश्यले विज्ञान तथा प्रविधि विभागको प्रमुखमा प्रो. विजय महासेठलाई जिम्मेवारी दिइएको छ।
अन्तिम रूपमा सहिद तथा घाइते व्यवस्थापन विभागको प्रमुखमा मो. युसुफ साफी चयन भएका छन्। सहिद परिवार तथा आन्दोलनका क्रममा घाइते भएकाहरूको व्यवस्थापन र सरोकारका विषयमा उक्त विभागले काम गर्ने जनाइएको छ।
सात दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन
हुंकार मधेशले विभागीय प्रमुखहरूलाई आफ्नो जिम्मेवारीअनुसार सात दिनभित्र कार्ययोजना, कार्यविधि र सयदिने कार्यक्रमको कार्यसूचीको खाका तयार गरी पेश गर्न निर्देशन दिएको छ।
अभियानले सबै विभागीय प्रमुखहरू सम्बन्धित क्षेत्रमा विज्ञ हुनुका साथै कम्तीमा स्नातक उत्तीर्ण हुनुपर्ने प्रावधान राखिएको जनाएको छ। सोही मापदण्डअनुसार योग्य व्यक्तिहरूलाई जिम्मेवारी दिइएको दाबी गरिएको छ।
हुंकार मधेशले आगामी चरणमा थप विभाग तथा संरचनालाई विस्तार गर्दै अभियानलाई देशव्यापी रूपमा अघि बढाउने तयारी गरेको छ। अभियानका अनुसार मधेशका सवाललाई सामाजिक न्याय, सुशासन, संघीयता, आर्थिक समृद्धि र राष्ट्रिय एकताको बहससँग जोड्दै अघि बढाउने लक्ष्य राखिएको छ।
दशैंपछि सुरु गर्ने भनिएको झापादेखि कञ्चनपुरसम्मको सयदिने हुलाकी यात्रालाई अभियानको प्रमुख कार्यक्रमका रूपमा लिइएको छ। पूर्वदेखि पश्चिमसम्मको यात्राका क्रममा विभिन्न क्षेत्रका नागरिक, युवा, विद्यार्थी, बुद्धिजीवी, पेशाकर्मी तथा स्थानीय समुदायसँग संवाद र अन्तरक्रिया गर्ने तयारी गरिएको छ।
यसरी २१ विभागीय प्रमुख तोकेसँगै हुंकार मधेशले आफ्नो संगठनात्मक संरचनालाई थप व्यवस्थित बनाउँदै आगामी कार्यक्रमलाई तीव्रता दिने संकेत गरेको छ।











दीपावलीको मुख्य दिन आज लक्ष्मी पूजा : धन, समृद्धि र सकारात्मक ऊर्जाको कामनासहित घरघरमा दीप प्रज्वलन गरिदै
६ हजार ५०० खेलाडीको स्वागतमा कर्णाली तयार, दशौँ राष्ट्रिय खेलकुदका लागि सुरक्षा र आवास व्यवस्थापन तीव्र
१८ करोडको आरोपले कांग्रेसभित्र नयाँ विवाद
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन