1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
कांग्रेस १५औँ महाधिवेशन

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्तासँगै नेतृत्व चयनको दौड तीव्र, अब के हुन्छ?

३१०पाठक संख्या
१वास्तविक शेयर
३१एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि १० views
समाचार सुन्नुहोस्

उद्घाटन भएको महाधिवेशनको तेस्रो दिन मंगलबार नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सुरु भएसँगै कांग्रेसभित्र चुनावी सरगर्मी तीव्र बनेको छ । एकातिर काठमाडौंको खुलामञ्चमा बन्दसत्र जारी छ भने अर्कोतर्फ राष्ट्रिय सभागृहमा उम्मेदवारहरू मनोनयन दर्ता गराउन व्यस्त छन् ।

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्तासँगै नेतृत्व चयनको दौड तीव्र, अब के हुन्छ?

काठमाडौं, २० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन निर्णायक चरणमा प्रवेश गरेको छ । आइतबार उद्घाटन भएको महाधिवेशनको तेस्रो दिन मंगलबार नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सुरु भएसँगै कांग्रेसभित्र चुनावी सरगर्मी तीव्र बनेको छ । एकातिर काठमाडौंको खुलामञ्चमा बन्दसत्र जारी छ भने अर्कोतर्फ राष्ट्रिय सभागृहमा उम्मेदवारहरू मनोनयन दर्ता गराउन व्यस्त छन् ।

यसपटक कांग्रेसको केन्द्रीय कार्यसमिति विगतको तुलनामा ठूलो बनाइएको छ । संशोधित विधानअनुसार २९७ सदस्यीय केन्द्रीय कार्यसमिति रहनेछ । पदाधिकारीको संख्या पनि बढाइएको छ । वरिष्ठ उपसभापति पद पहिलोपटक थपिएको छ भने उपसभापति, महामन्त्री र सहमहामन्त्रीका पदमा समेत संख्या तथा समावेशी प्रतिनिधित्व बढाइएको छ ।

आज के भयो ?

मंगलबार राष्ट्रिय सभागृहमा दिउँसोदेखि उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढेको थियो । सुरुमा उम्मेदवारी दर्ताका लागि दिइएको समय पछि बढाएर साँझ ६ बजेसम्म पुर्‍याइएको छ ।

सभापतिमा गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् । थापा पार्टीको वर्तमान सभापति हुन् र उनको नेतृत्वलाई निरन्तरता दिने गरी महाधिवेशनमा उनी पुनः सभापतिको प्रतिस्पर्धामा छन् ।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसको नयाँ विधानअनुसार पहिलोपटक सिर्जना गरिएको यो पदमा हालसम्म शर्माको उम्मेदवारी प्रमुख रूपमा देखिएको छ । उनले वारिसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।

उपसभापतिमा पुष्पा भुसालले महिला समूहबाट, विनोद चौधरी र फरमुल्लाह मन्सुरले समावेशी समूहबाट उम्मेदवारी दर्ता गराएका छन् । खुला उपसभापतितर्फ डा. चन्द्रमोहन यादव, सुरेन्द्रराज पाण्डे, डा. मीनेन्द्र रिजाल, गोविन्द भट्टराई, देवराज चालिसे र मधुप्रसाद आचार्यलगायतको उम्मेदवारी परेको विवरण सार्वजनिक भएको छ ।

महामन्त्रीतर्फ महिला समूहमा डिला संग्रौला, तथा खुलातर्फ शंकर तिवारी, सुनिल शर्मा, नैनसिंह महर, प्रदीप पौडेल र गुरुराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । महिला महामन्त्रीका लागि रिता खनाल र महालक्ष्मी उपाध्याय ‘डिना’समेत प्रतिस्पर्धामा छन् ।

सहमहामन्त्रीतर्फ पनि विभिन्न क्लस्टरमा उम्मेदवारी दर्ता भइरहेको छ । महिला समूहमा प्रतिमा गौतम, खुलातर्फ देवेन्द्रराज कँडेल, पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही, खसआर्यतर्फ रामहरि खतिवडा, मनोजमणि आचार्य, रमेश धमला र अजयबाबु शिवाकोटीलगायतले उम्मेदवारी दिएका छन् । आदिवासी जनजाति, थारू, मुस्लिम, मधेसी तथा अल्पसंख्यक समूहमा पनि उम्मेदवारी परेको छ ।

बन्दसत्रमा के हुँदैछ ?

उम्मेदवारी दर्ताको चटारो भइरहँदा खुलामञ्चमा भने महाधिवेशनको बन्दसत्र जारी छ । सोमबारदेखि सुरु भएको बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रतिवेदन, महामन्त्री गुरुराज घिमिरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

यसअघि महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेको संशोधित विधान पारित भइसकेको छ । सोही संशोधित विधानअनुसार अहिले नयाँ नेतृत्व चयनको निर्वाचन प्रक्रिया अघि बढाइएको हो । बन्दसत्रमा प्रतिनिधिहरूलाई विभिन्न समूहमा विभाजन गरेर प्रतिवेदनमाथि छलफल गराइएको छ ।

अब के हुन्छ ?

उम्मेदवारी दर्तापछि निर्वाचन कार्यतालिकाअनुसार दाबी–विरोध, उम्मेदवारी जाँचबुझ र अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेदवारहरूले नाम फिर्ता लिन वा आवश्यक संशोधन गर्न पाउने समयपछि अन्तिम उम्मेदवारको सूची सार्वजनिक गरिनेछ । त्यसपछि चुनावी प्रचारप्रसारको चरण अघि बढ्नेछ ।

असोज २१ गते उम्मेदवारको नाम फिर्ता तथा सच्याउने प्रक्रिया पूरा गरी अन्तिम नामावली सार्वजनिक गर्ने र त्यसपछि प्रचारप्रसारका लागि समय दिने कार्यतालिका रहेको छ । त्यसपछि असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको छ ।

यसपटक कांग्रेसमा ७ हजार ११४ जना महाधिवेशन प्रतिनिधि अन्तिम मतदाता सूचीमा कायम भएका छन् । उनीहरूले नयाँ नेतृत्व चयन गर्नेछन् ।

नेतृत्व चयन कस्तो हुनेछ ?

यसपटकको निर्वाचनमा सभापतिसहित वरिष्ठ उपसभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्य चयन हुनेछन् । संशोधित विधानले महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, खसआर्य, थारू, पिछडिएको क्षेत्र, युवा, प्रवास, श्रमिक तथा द्वन्द्व प्रभावित समूहलाई समेत केन्द्रीय संरचनामा प्रतिनिधित्वको व्यवस्था गरेको छ ।

महाधिवेशनको सबैभन्दा ठूलो चासो भने गगन थापाको नेतृत्वमा बन्ने नयाँ टिम र त्यसमा पदाधिकारीको शक्ति सन्तुलनमा केन्द्रित छ । पदाधिकारीका आकांक्षीको संख्या ठूलो भएकाले अन्तिम समयसम्म उम्मेदवारी फिर्ता, सहमति र चुनावी समीकरणमा परिवर्तन आउन सक्ने सम्भावना छ ।

यससँगै कांग्रेसको १५औँ महाधिवेशन अब वैचारिक बहसभन्दा नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको छ । बन्दसत्रबाट राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित हुँदै जाने र निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन हुने भएकाले आगामी दुई दिन कांग्रेसका लागि निकै महत्वपूर्ण हुने देखिएको छ ।

वान समाचार
यस समाचारका रिपोर्टर

वान समाचार

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १९८ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।