काठमाडौं, २० असोज । आम जनता पार्टी (आजपा)ले युवा नेता बालकृष्ण सापकोटालाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले नेताहरूको जिम्मेवारी हेरफेर तथा नयाँ जिम्मेवारी तोक्ने क्रममा सापकोटालाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।
आजपाका संस्थापक सदस्यसमेत रहेका सापकोटाले पार्टी स्थापना कालदेखि नै संगठन निर्माण तथा विस्तारमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । नयाँ जिम्मेवारीसँगै उनले विदेशमा रहेका नेपाली तथा आजपाका शुभेच्छुकसँग सम्पर्क, समन्वय र सहकार्य विस्तार गर्दै प्रवासमा पार्टीको संगठन निर्माणलाई अघि बढाउने जिम्मेवारी पाएका छन् ।
आजपाले पछिल्लो समय देशभित्र संगठन विस्तारसँगै विदेशमा रहेका नेपाली समुदायसँगको सम्बन्धलाई समेत प्राथमिकतामा राख्दै आएको छ । विदेशमा रहेका नेपालीहरूलाई पार्टीका राजनीतिक तथा सामाजिक एजेण्डासँग जोड्ने, उनीहरूको चासो र समस्यालाई पार्टीको राजनीतिक बहससँग जोड्ने तथा अन्तर्राष्ट्रियस्तरमा पार्टीको सम्पर्क विस्तार गर्ने महत्वपूर्ण जिम्मेवारी सापकोटाको काँधमा आएको छ ।
विदेश विभाग प्रमुखको जिम्मेवारी पाएपछि सापकोटाले पार्टीले दिएको जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्ने बताएका छन् । विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरूमाझ आजपाका राजनीतिक एजेण्डा तथा विचार पु¥याउँदै उनीहरूलाई पार्टीसँग जोड्न आफूले विशेष भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।
उनले प्रवासमा रहेका नेपालीसँग नियमित सम्पर्क र समन्वय विस्तार गर्ने, आजपाका शुभेच्छुकलाई संगठित गर्ने तथा विदेशमा पार्टीको संगठनात्मक आधार निर्माणलाई प्राथमिकतामा राख्ने बताएका छन् ।
सापकोटालाई विदेश विभाग प्रमुखसँगै ‘आम शहीद तथा बेपत्ता परिवार’को इन्चार्जको जिम्मेवारीसमेत दिइएको छ । यससँगै उनले विदेशमा पार्टीको संगठन विस्तारका साथै शहीद तथा बेपत्ता परिवारसँग सम्बन्धित विषयमा समेत पार्टीको तर्फबाट समन्वय गर्ने जिम्मेवारी पाएका छन् ।
आजपा प्रवक्ता सुभाष साहले जारी गरेको विज्ञप्तिअनुसार पार्टीले विभिन्न विभागका प्रमुखहरूको समेत जिम्मेवारी तोकेको छ । जसअनुसार स्कुल विभाग प्रमुखमा तिलक थापा मगर, अनुशासन विभाग प्रमुखमा आत्माराम साह, संगठन विभाग प्रमुखमा त्रिभुवन साह, प्रचार–प्रसार विभाग प्रमुखमा सुभाष प्रसाद साह र आर्थिक विभाग प्रमुखमा देवकुमारी साहलाई जिम्मेवारी दिइएको छ ।
पार्टीले विभागीय जिम्मेवारी तोक्दै संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने तथा विभिन्न क्षेत्रका कामलाई जिम्मेवार नेतामार्फत अघि बढाउने नीति लिएको जनाएको छ । नयाँ जिम्मेवारीसँगै विदेशमा रहेका नेपालीलाई संगठनसँग जोड्ने र प्रवासमा आजपाको उपस्थिति विस्तार गर्ने अभियानलाई तीव्रता दिने तयारी गरिएको छ ।




राष्ट्रिय जनता पार्टी जसपा नेपालमा समाहित हुने
कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्तासँगै नेतृत्व चयनको दौड तीव्र, अब के हुन्छ?
पूर्वराष्ट्रपति विद्या एमालेमा अध्यक्ष ओलीपछि शक्तिशाली जिम्मेवारीमा
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन