रौतहट, ३ कात्तिक । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशमा बढ्दो महँगी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएका छन्।
रौतहटको कटहरियामा आज अग्रगामी मोर्चा निकटको अग्रगामी युवा मोर्चाद्वारा दशैं, दिपावली, छठ पर्वको अवसरमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले सर्वसाधारण नागरिकको जनजीवन कष्टकर बनेको बताएका हुन्।
साहले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरूको उदाहरण दिँदै नेपालमा पेट्रोलियम पदार्थको मूल्य महँगो हुनुको कारण सरकारले स्पष्ट पार्नुपर्ने माग गरे। छिमेकी भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकालगायतका मुलुकमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण र सरकारी करको संरचनाबारे तुलना गर्दै उनले नेपालमा उपभोक्ताले किन महँगो मूल्य तिर्नुपरिरहेको छ भन्ने प्रश्न उठाए।
‘सार्क राष्ट्रहरूमा तेलको मूल्य सस्तो हुँदै गर्दा नेपालमा किन महँगो भइरहेको छ ? भारतमा १८४ रुपैयामा पाउने पेट्रोल नेपालमा १९९ रुपैया किन ?’ भन्ने प्रश्न गर्दै साहले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात, ढुवानी र उत्पादन लागत बढाउने तथा त्यसको प्रत्यक्ष असर दैनिक उपभोग्य वस्तुको मूल्यमा पर्ने बताए। सरकारले महँगी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने उनको माग थियो।
उनले सरकारको सार्वजनिक खरिद प्रक्रियामाथि पनि प्रश्न उठाए। विगतमा अनलाइन प्रणालीमार्फत हुँदै आएको ठेक्का प्रक्रिया अहिले कागजी प्रक्रियातर्फ फर्काइएको भन्दै उनले यसले पारदर्शिता र प्रतिस्पर्धामा असर पार्ने दाबी गरे।
‘एआई र डिजिटल प्रविधिको युगमा राज्यले अनलाइन सेवा विस्तार गर्नुपर्ने हो कि कागजी प्रक्रियामा फर्किनुपर्ने हो ?’ साहले प्रश्न गरे। अनलाइन प्रणालीले ठेक्का प्रक्रियालाई पारदर्शी बनाउने, प्रतिस्पर्धा बढाउने र अनियमितता नियन्त्रण गर्न सहयोग गर्ने उनको भनाइ थियो।
कागजी ठेक्का प्रक्रियाबाट कर्मचारी, ठेकेदार र मन्त्रीहरूलाई मनोमानी गर्ने तथा कमिसनको चलखेल गर्ने अवसर मिल्ने गरेको आरोप लगाउँदै साहले यसले राज्यलाई अर्बौं रुपैयाँ क्षति पुर्याउन सक्ने बताए। सार्वजनिक खरिदमा पारदर्शिता कायम गरी सरकारी खर्चको प्रभावकारी उपयोग सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए।
उनले ठेक्का प्रक्रियालाई पुनः पूर्ण रूपमा विद्युतीय प्रणालीमा सञ्चालन गर्न, सार्वजनिक खर्चको निगरानी बढाउन र अनियमिततामाथि छानबिन गर्न सरकारसँग माग गरे।
साहले महँगी नियन्त्रण, सार्वजनिक खरिदमा पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषयका रूपमा प्रस्तुत गर्दै सरकारलाई जवाफदेही बनाउन युवाहरूले आवाज उठाउनुपर्ने बताए।
कार्यक्रममा जसपा नेपालका उपाध्यक्ष गोबिन्द चौधरी, आजपा उपाध्यक्ष समिना हुसेन, महासचिव त्रिभुवन साह, उपमहासचिवत्रय सियाराम कुशवाहा, लालबाबु मन्सुरी, रन्जु साह, जनमत पार्टीका नेता रामलाल यादव सहित अग्रगामी मोर्चामा आबद्ध विभिन्न पार्टीका नेताहरुको सहभागिता रहेको आजपा प्रवक्ता सुभाष साहले जनाएका छन् ।










दीपावलीको मुख्य दिन आज लक्ष्मी पूजा : धन, समृद्धि र सकारात्मक ऊर्जाको कामनासहित घरघरमा दीप प्रज्वलन गरिदै
६ हजार ५०० खेलाडीको स्वागतमा कर्णाली तयार, दशौँ राष्ट्रिय खेलकुदका लागि सुरक्षा र आवास व्यवस्थापन तीव्र
१८ करोडको आरोपले कांग्रेसभित्र नयाँ विवाद
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन