वीरगन्ज, १८ कात्तिक । मधेशी दल तथा नेताहरूको राजनीतिक समीक्षा पछिल्लो निर्वाचनबाटै जनताले गरिसकेको भन्दै अब मधेशको नेतृत्व नयाँ युवा पुस्ताले लिनुपर्ने आवाज वीरगञ्जमा आयोजित एक अन्तरक्रिया कार्यक्रमबाट उठेको छ।

‘जबसम्म सूर्य र चन्द्रमा यो धर्तीमा रहिरहन्छन्, सहिदको त्याग, तपस्या र बलिदान अमर रहिरहनेछ’ भन्ने मूल नाराका साथ ‘मधेश : अबको बाटो, मधेशी राजनीतिको समीक्षा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

सहिद सञ्जय चौधरी स्मृति प्रतिष्ठानद्वारा आयोजित दशौँ शृङ्खलाको उक्त कार्यक्रम वीरगञ्ज पब्लिक कलेजको सभाहलमा सम्पन्न भएको थियो। सहिद परिवारकी विनीता शाहको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेशको वर्तमान राजनीतिक अवस्था, मधेशी दल तथा नेताहरूको भूमिका, पहिचान, अधिकार र सहिदहरूको योगदानलगायतका विषयमा गहन छलफल गरिएको थियो।

कार्यक्रममा अधिवक्ता आनन्द गुप्ताले विषय प्रवेश गराउँदै जेनजी आन्दोलनपछि मधेशी दल तथा नेताहरूको विश्वसनीयतामा कमी आएको धारणा राखे। मधेशका मुद्दा अझै पूर्ण रूपमा सम्बोधन हुन नसकेको उल्लेख गर्दै उनले मधेशको अधुरो अधिकार प्राप्तिको अभियानलाई अगाडि बढाउन राज्यलाई कसरी दबाब दिने र मधेशको राजनीति कहाँ चुक्यो भन्ने विषयमा निर्मम समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले मधेशको राजनीतिक उपलब्धि, कमजोरी र आगामी कार्यदिशाबारे खुलेर बहस गर्न सहभागी वक्ताहरूलाई आग्रह गरेका थिए।

कार्यक्रममा सहभागी वक्ताहरूले मधेशी दल तथा नेताहरूको समीक्षा जनताले पछिल्लो निर्वाचनबाटै गरिसकेको उल्लेख गर्दै अब मधेशको राजनीतिक नेतृत्व नयाँ पुस्ताले लिनुपर्ने निष्कर्ष निकाले। उनीहरूले मधेशको अधिकार र पहिचानको मुद्दालाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्याय र आर्थिक विकासजस्ता जनताका प्रत्यक्ष सरोकारका विषयलाई समेत समेटेर नयाँ राजनीतिक कार्यक्रमका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

वक्ताहरूका अनुसार मधेशको राजनीति अब परम्परागत राजनीतिक मुद्दामा मात्र सीमित नभई बदलिँदो समय र जनताको अपेक्षाअनुसार अघि बढ्न आवश्यक छ। नयाँ पुस्ताले नेतृत्वदायी भूमिका निर्वाह गर्दै मधेशका अधुरा राजनीतिक मुद्दा र सामाजिक समस्यालाई सम्बोधन गर्ने कार्यक्रम ल्याउनुपर्ने उनीहरूको धारणा थियो।

अन्तरक्रियामा मधेशको राजनीतिक पहिचान, सामाजिक अपेक्षा, संस्कार, संस्कृति तथा हकअधिकार स्थापित गर्न सहिदहरूको योगदानलाई उचित सम्मान र पहिचान दिनुपर्ने विषयमा पनि चर्चा गरिएको थियो। मधेशको अधिकार प्राप्तिका लागि विभिन्न समयमा भएका आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूको इतिहास र बलिदानलाई संस्थागत रूपमा स्थापित गर्नुपर्ने वक्ताहरूले बताएका थिए।

सहिदहरूको योगदानलाई स्मरणमा मात्र सीमित नराखी उनीहरूले देखेका सपना, उद्देश्य र अधिकार प्राप्तिको अभियानलाई व्यवहारमा उतार्नुपर्नेमा सहभागीहरूले जोड दिए। साथै मधेशले हालसम्म प्राप्त गरेका उपलब्धि, विद्यमान चुनौती र आगामी राजनीतिक सम्भावनाबारे पनि विचार–विमर्श गरिएको थियो।

सहिद सोहन साह कलवारकी पत्नी विनीता देवीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वसांसदद्वय प्रह्लाद गिरी र विक्की यादव, अर्थशास्त्री प्राध्यापक इन्दुशेखर मिश्र, प्रा. डा. हरेराम ठाकुर, ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुखद्वय ए.के. झा र डा. उमेश चौरसिया, प्राध्यापक विजय महासेठ, नेतृ रम्भा मिश्रा, मोनिका सिंह, नेता निजामुद्दिन समानी, शिव पटेल, पूर्व उपप्रमुख सलमा खातुन, पूर्व प्रहरी उपरीक्षक रामेश्वर यादव, पूर्व आईजी हरिबाबु चौधरी, रामनारायण मिश्र, पत्रकार पवन तिवारी, डा. आमिर आलम, राजेश कुमार साह, नेता शिवजी सोनी, कानूनकी विद्यार्थी अदिती साह, पत्रकार अफरोज अर्पण र ओमप्रकाश चौधरीलगायत तीन दर्जनभन्दा बढी युवा, बुद्धिजीवी तथा पेशाकर्मीको सहभागिता थियो।

कार्यक्रमले मधेशको राजनीतिक यात्राको समीक्षा गर्दै सहिदहरूको त्याग र बलिदानको इतिहास नयाँ पुस्तासम्म पुर्याउन तथा मधेशको पहिचान र अधिकारको सवाललाई थप सशक्त बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।

कार्यक्रमबारे सहिद सञ्जय चौधरी स्मृति प्रतिष्ठानका संरक्षक सञ्जय यादवले जानकारी दिएका हुन्।










दीपावलीको मुख्य दिन आज लक्ष्मी पूजा : धन, समृद्धि र सकारात्मक ऊर्जाको कामनासहित घरघरमा दीप प्रज्वलन गरिदै
६ हजार ५०० खेलाडीको स्वागतमा कर्णाली तयार, दशौँ राष्ट्रिय खेलकुदका लागि सुरक्षा र आवास व्यवस्थापन तीव्र
१८ करोडको आरोपले कांग्रेसभित्र नयाँ विवाद
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन