Header advertisement
⚙️ व्यवस्थापन
वर्षापछिको विपद्

देशभर २७ जनाको ज्यान गयो, हजारौँ नागरिक प्रभावित

असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षा र त्यसपछिको विपद्मा परी देशभर २७ जनाको मृत्यु भएको छ।

देशभर २७ जनाको ज्यान गयो, हजारौँ नागरिक प्रभावित
काठमाडौं, १३ असोज ।
बङ्गालको खाडीबाट विकसित न्यून चापीय प्रणालीका कारण असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षा र त्यसपछिको विपद्मा परी देशभर २७ जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो स्थिति प्रतिवेदनअनुसार बाढी, पहिरो र भारी वर्षाका कारण देशभर ५४२ वटा विपद्का घटना दर्ता भएका छन्। विपद्मा परी ४ जना बेपत्ता र ८ जना घाइते भएका छन् भने देशभर १ हजार ८२ परिवार प्रत्यक्ष प्रभावित भएका छन्।

प्राधिकरणका अनुसार विपद्का घटनामध्ये पहिरोबाट सबैभन्दा धेरै मानवीय क्षति भएको छ। देशभर ३०४ वटा पहिरो जाँदा २० जनाको मृत्यु, चार जना बेपत्ता र सात जना घाइते भएका छन्। त्यस्तै, ८७ वटा बाढीका घटनामा चार जनाको मृत्यु भएको छ। भारी वर्षासँग सम्बन्धित १५१ घटनामा तीन जनाको मृत्यु र एक जना घाइते भएका छन्।

हिमलुङ हिमालतर्फ क्याम्प निर्माणका लागि गएको २२ जना नेपालीको टोलीसमेत हिमपहिरोमा परेको छ। हालसम्म चार जनाको शव फेला परेको छ भने बेपत्ताको खोजी तथा उद्धारका लागि हेलिकप्टरबाट हवाई खोजी जारी रहेको प्राधिकरणले जनाएको छ।

लगातारको वर्षाले देशभरका भौतिक संरचना तथा सडक पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ। प्राधिकरणका अनुसार २२७ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने १४२ घरमा आंशिक क्षति पुगेको छ। बाढीका कारण देशभर १० वटा पुलमा क्षति पुगेको छ। बागलुङमा कालीगण्डकी नदीको पुल बगाउँदा यातायात सम्पर्क विच्छेद हुनुका साथै विद्युत् र टेलिफोन सेवा प्रभावित भएको छ।

म्याग्दीमा करिब ४०० मिटर सडक कटान भएको छ भने विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध भएका छन्। विपद्को असर कृषि तथा पशुपालन क्षेत्रमा पनि परेको छ। देशभर ३१ वटा गोठ भत्किएका छन् भने ११४ पशुचौपायाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

विपद्को जोखिममा रहेका क्षेत्रबाट करिब २ हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उद्धार तथा खोजी कार्यमा जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बलका ४ हजार ३९५ तथा नेपाली सेनाका २६५ सुरक्षाकर्मी परिचालन गरिएको थियो।

म्याग्दी, जाजरकोट, हुम्ला, मुगु र दैलेखलगायत दुर्गम जिल्लामा बाढी तथा पहिरोमा फसेका र गम्भीर घाइते भएका नागरिकलाई हेलिकप्टरमार्फत उद्धार गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार विपद्को सम्भावित जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारीस्वरूप जोखिमयुक्त क्षेत्रका नागरिकलाई करिब ९ लाख ८० हजार एसएमएसमार्फत सूचना पठाइएको थियो। यस्तै, नेपालमा रहेका तथा भ्रमणमा आएका पर्यटकलाई लक्षित गरी करिब ९ हजार अंग्रेजी भाषाका सूचना प्रवाह गरिएको थियो।

अविरल वर्षापछि आएको बाढी, पहिरो र हिमपहिरोका कारण जनधनसँगै सडक, पुल, घर तथा पशुधनमा समेत क्षति पुगेपछि विभिन्न जिल्लामा खोज, उद्धार र पुनःस्थापनाको काम जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
#Badhipahiro #बाढी

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार