1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

‘सर्वोच्च अदालत बिक्ने संस्था होइन, निष्पक्ष न्याय दिनेछ’ : शेरबहादुर देउवा

२७०पाठक संख्या
०वास्तविक शेयर
२६एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि १० views
समाचार सुन्नुहोस्

पार्टीको आधिकारिकता विवादमा सर्वोच्चबाट न्याय पाउने देउवाको विश्वास, नेता–कार्यकर्तालाई एकजुट भएर अघि बढ्न आग्रह

‘सर्वोच्च अदालत बिक्ने संस्था होइन, निष्पक्ष न्याय दिनेछ’ : शेरबहादुर देउवा

काठमाडौं २९ कात्तिक। नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतप्रति पूर्ण विश्वास व्यक्त गर्दै पार्टीको आधिकारिकता विवादमा निष्पक्ष न्याय पाउने बताएका छन्।

शनिबार ललितपुरमा आफू पक्षीय नेपाली कांग्रेसको जिल्ला अधिवेशन कार्यक्रममा सम्बोधन गर्दै देउवाले सर्वोच्च अदालत कुनै आर्थिक प्रलोभनमा बिक्ने संस्था नभएको उल्लेख गर्दै अदालतले निष्पक्ष र स्वतन्त्र रूपमा न्याय दिने विश्वास व्यक्त गरेका हुन्।

उनले आफूहरूमाथि अन्याय नहुने जिकिर गर्दै नेपालको न्यायपालिकाको निष्पक्षतामाथि आफू विश्वस्त रहेको बताए।

देउवाले पञ्चायतकालदेखि नै नेपालको न्यायपालिकाले निष्पक्ष न्याय दिँदै आएको स्मरण गरे। तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता आफ्नो हातमा लिएका बेला आफूलाई शाही आयोगमार्फत जेलमा राखिएको प्रसंग उल्लेख गर्दै उनले त्यसबेला पनि सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास गरेको बताए।

त्यतिबेला राजाको प्रत्यक्ष शासन रहेकाले सर्वोच्च अदालतले आफूलाई न्याय दिन सक्ला कि नसक्ला भन्ने आशंका रहे पनि अदालतले साहसपूर्वक आफूलाई रिहा गरेको उनको भनाइ थियो।

‘मलाई नेपालको न्यायपालिकाप्रति पूर्ण विश्वास छ। सर्वोच्च अदालत कुनै आर्थिक प्रलोभनमा बिक्ने संस्था होइन। अदालतले निष्पक्ष र स्वतन्त्र रूपमा न्याय दिनेछ भन्ने मेरो दृढ विश्वास छ,’ देउवाले भने।

राजाको प्रत्यक्ष शासनकालमा समेत न्याय दिन सक्ने सर्वोच्च अदालतले अहिले नेपाली कांग्रेसको आधिकारिकता विवादमा पनि निष्पक्ष फैसला गर्ने उनको विश्वास छ।

देउवाले आफूहरूले न्याय पाउने र अन्ततः आफ्नो पक्षको जित हुने दाबीसमेत गरे। उनले पार्टीका नेता तथा कार्यकर्तालाई निराश नभई एकजुट भएर अघि बढ्न आग्रह गरे।

‘हाम्रो जित अवश्य हुनेछ भन्ने विश्वासका साथ अगाडि बढौँ। जनता हाम्रो साथमा छन्, पार्टी हाम्रो साथमा छ र देशको हित नै हाम्रो मूल उद्देश्य हो,’ उनले भने।

पार्टीभित्रको आधिकारिकता विवाद न्यायिक निरूपणको प्रक्रियामा रहेका बेला देउवाको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उनले आफ्नो पक्षको दाबी प्रस्तुत गर्दै न्यायपालिकाप्रतिको विश्वास सार्वजनिक गरेका हुन्।

कार्यक्रममा देउवाले जनताको विश्वास र साथ लिएर देश तथा जनताको सेवामा निरन्तर समर्पित हुन नेता–कार्यकर्तालाई आह्वान गरेका थिए।

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।