1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

‘जन जन जनमत, मन मन जनमत’ अभियान चलाउने जनमतको निर्णय

‘जन जन जनमत, मन मन जनमत’ अभियान चलाउने जनमतको निर्णय
काठमाडौं, २५ असोज । जनमत पार्टीले आगामी स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै संगठन विस्तार, सम्भावित उम्मेदवार पहिचान र जनस्तरमा पार्टीको राजनीतिक एजेण्डा पुर्‍याउने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय सचिवालयको असोज २३ गते बसेको बैठकका निर्णयअनुसार जारी सर्कुलरमा स्थानीय निर्वाचनका लागि पालिकास्तरमा सर्वेक्षण गरी सम्भावित उम्मेदवारको सूची तयार गर्न निर्देशन दिइएको छ। पार्टीले आफू बलियो रहेका पालिका, सम्भावित उम्मेदवार तथा स्थानीय एजेण्डाबारे विवरण संकलन गरी केन्द्रमा पठाउन मातहतका कमिटीलाई भनेको छ।

जनमतले ‘जन जन जनमत, मन मन जनमत’ अभियानसमेत सञ्चालन गर्ने भएको छ। पार्टीको राजनीतिक सिद्धान्त, माग, संघर्ष र एजेण्डाबारे जनस्तरमा जानकारी गराउने तथा पार्टीप्रति फैलाइएको भ्रम चिर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्ने सर्कुलरमा उल्लेख छ।

यसैगरी दशैं, तिहार र छठ पर्वको अवसर पारेर नवनिर्वाचित केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूलाई पालिकास्तरमा शुभकामना कार्यक्रम आयोजना गर्न निर्देशन दिइएको छ। प्रत्येक केन्द्रीय कार्यकारिणी सदस्यले आफ्नो जिम्मेवारीअनुसार एकभन्दा बढी पालिकामा कार्यक्रम गर्न सक्ने जनाइएको छ।

पार्टीले स्थानीय तथा प्रदेश निर्वाचनको तयारीलाई ध्यानमा राख्दै संगठन सक्रिय रहेका जिल्लामा पार्टी कार्यालय नियमित सञ्चालन गर्न पनि निर्देशन दिएको छ। स्थानीय निर्वाचन आसपास जिल्ला कार्यालयलाई सक्रिय बनाउँदै दैनिक कार्यालय सञ्चालन र संगठनात्मक गतिविधि बढाउने निर्णय गरिएको छ।

सर्कुलरमा पार्टीका असन्तुष्ट कार्यकर्तासँग संवाद गरी उनीहरूका समस्या बुझ्न राष्ट्रिय उपाध्यक्ष राजकुमार त्यागीको नेतृत्वमा समिति गठन गरिएको उल्लेख छ। पार्टी प्रवेश गर्न इच्छुक तथा स्थानीय वा प्रदेश निर्वाचनमा सहभागी हुन चाहने व्यक्तिसँग संवाद गरी सूची तयार गर्ने जिम्मेवारी राष्ट्रिय सचिव पारसप्रसाद साहलाई दिइएको छ।

यसैगरी पार्टीले मंसिर १० गते काठमाडौंमा ‘रंगभेदविरुद्ध एकता दिवस’ मनाउने र त्यसलाई लक्षित गर्दै वडा तहसम्म युवा दस्तासमेत तयार गर्ने निर्णय गरेको छ। कार्यक्रमको जिम्मेवारी राष्ट्रिय उपाध्यक्ष माधवप्रसाद सिंह, राष्ट्रिय महासचिव सञ्जयकुमार यादव, उपमहासचिव निर्मल मण्डल र राष्ट्रिय सचिव सुरेन्द्र मधेशीलाई दिइएको छ।

जनमतले केन्द्रीय कार्यकारिणी सदस्यका लागि वार्षिक न्यूनतम ५ हजार र पदाधिकारीका लागि १० हजार रुपैयाँ लेवी निर्धारण गरेको छ।

सर्कुलरमा काठमाडौं उपत्यकामा केन्द्रीय सम्पर्क कार्यालयलाई स्थायी कार्यालयका रूपमा सञ्चालन गर्ने तथा लुम्बिनी र जनकपुरमा पनि क्षेत्रीय कार्यालय स्थापना गर्ने निर्णयसमेत उल्लेख छ। लुम्बिनीमा इन्द्रप्रसाद चौधरी, बालगोविन्द चौधरी र राधा यादव तथा मधेशमा अञ्जनीदेवी मण्डललाई कार्यालय स्थापनाको जिम्मेवारी दिइएको छ।

जनमत पार्टीले यी निर्णयमार्फत आगामी स्थानीय निर्वाचनका लागि संगठनात्मक आधार बलियो बनाउने र पार्टीको राजनीतिक सन्देशलाई जनस्तरसम्म पुर्‍याउने तयारी अघि बढाएको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
#Janamatparty #ckraut

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार