काठमाडौं, १ मंसिर। सरकारले आर्थिक वर्ष २०८१/८२ मा राज्यलाई सबैभन्दा बढी कर योगदान गर्ने विभिन्न क्षेत्रका १९ व्यक्ति तथा कम्पनीलाई सम्मान गरेको छ। राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्मानित करदाता तथा कम्पनीका प्रतिनिधिलाई सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेका हुन्।
राज्यको राजस्व संकलनमा महत्वपूर्ण योगदान पुर्याउने करदातालाई प्रोत्साहन गर्ने तथा कर तिर्ने संस्कृतिको विकास गर्ने उद्देश्यले विभागले विभिन्न क्षेत्र र विधाअनुसार उत्कृष्ट करदातालाई सम्मान गरेको हो। सम्मान कार्यक्रममा उद्योग, व्यापार, बैंकिङ, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, पर्यटन, ऊर्जा, कृषि, बीमा तथा वित्तीय क्षेत्रका कम्पनी र व्यक्तिगत करदाता समेटिएका छन्।
विभागका अनुसार सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ। एकलौटी फर्मतर्फ थर्ड आईले सम्मान प्राप्त गरेको छ। व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर दाखिला गर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन्।
वस्तु निर्यात कारोबारतर्फ डाबर नेपाल सम्मानित भएको छ। सूचना प्रविधिसम्बन्धी सेवा प्रदान गर्ने कम्पनीमध्ये इन्फाइनाइट सफ्टवेयर सर्भिस प्रालिले सम्मान प्राप्त गरेको छ। कृषि तथा पशुपक्षीजन्य क्षेत्रतर्फ ओसिबी एण्ड फुड्स फिड्स प्रालि सम्मानित भएको छ।
त्यसैगरी बैंकिङ क्षेत्रमा कारोबार गर्ने संस्थामध्ये नबिल बैंक, स्वास्थ्य तथा शैक्षिक क्षेत्रतर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल र पर्यटन व्यवसायअन्तर्गत सोल्टी होटल सम्मानित भएका छन्। वस्तु व्यापार कारोबारतर्फ सिजी इम्पेक्स प्रालिले सम्मान प्राप्त गरेको छ।
वार्षिक ५० करोड रुपैयाँभन्दा बढी र १०० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये फुड एण्ड बेभरेज टेक्नोलोजी सम्मानित भएको छ। ऊर्जा उद्योगतर्फ भोटेकोसी हाइड्रोपावर तथा रेमिट्यान्स र मनी ट्रान्सफर सेवातर्फ आईएमई लिमिटेड सम्मानित भएका छन्।
मूल्य अभिवृद्धि करतर्फ सन् २०७७ देखि २०८३ सम्म बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपमा हिमालयन डिष्टिलरी लिमिटेडले सम्मान प्राप्त गरेको छ। वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातातर्फ इम्पेरियल सेक्युरिटिज सम्मानित भएको छ।
विशेष उद्योगतर्फ वरुण बेभरेज, जीवन बीमा क्षेत्रमा लाइफ इन्स्योरेन्स कर्पोरेसन, निर्जीवन बीमा क्षेत्रमा सिद्धार्थ प्रिमियर र लघुवित्त क्षेत्रमा छिमेक लघुवित्त सम्मानित भएका छन्।
यसैगरी मुलुकको राजस्वमा उच्च योगदान पुर्याएको भन्दै भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई विशेष सम्मान प्रदान गरिएको छ। विभिन्न क्षेत्रका करदातामध्ये भाटभटेनीलाई छुट्टै विशेष सम्मान प्रदान गरिनुले ठूलो व्यावसायिक कारोबार गर्ने संस्थाको राजस्व योगदानलाई सरकारले महत्व दिएको देखिन्छ।
राष्ट्रिय कर दिवसका अवसरमा गरिएको सम्मानले नियमित रूपमा कर दाखिला गर्ने व्यवसायी तथा करदातालाई प्रोत्साहित गर्नुका साथै कर प्रणालीप्रति नागरिक र निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
नेपालको सार्वजनिक खर्च व्यवस्थापन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा सरकारी सेवा सञ्चालनका लागि राजस्व महत्वपूर्ण स्रोत हो। सरकारले कर संकलनलाई व्यवस्थित र प्रभावकारी बनाउन निजी क्षेत्र तथा व्यक्तिगत करदाताको सहभागितालाई महत्वपूर्ण मान्दै आएको छ।
कर तिर्नु नागरिक तथा व्यावसायिक संस्थाको कानुनी दायित्व भए पनि स्वेच्छिक कर सहभागिता, पारदर्शी कारोबार र कर अनुपालनको संस्कृतिले अर्थतन्त्रलाई औपचारिक तथा व्यवस्थित बनाउन सहयोग पुर्याउँछ। यसै सन्दर्भमा उत्कृष्ट करदातालाई सार्वजनिक रूपमा सम्मान गर्ने कार्यक्रमलाई कर प्रशासन र करदाताबीचको सम्बन्ध सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ।
राष्ट्रिय कर दिवसको अवसरमा सम्मानित भएका कम्पनी तथा व्यक्तिहरूले आ–आफ्नो क्षेत्रबाट राज्यको राजस्वमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान प्राप्त गरेका हुन्। सरकारले आगामी दिनमा पनि कर प्रणालीलाई सरल, पारदर्शी र प्रविधिमैत्री बनाउँदै करको दायरा विस्तार गर्ने तथा करदातालाई प्रोत्साहन गर्ने नीति अघि बढाउनुपर्ने अपेक्षा गरिएको छ।











काठमाडौं-तराई/मधेस फास्ट ट्र्याकको महादेवटार सुरुङ छिचोलियो, राष्ट्रपति पौडेलको उपस्थितिमा ब्रेक थ्रु
स्थानीय निर्वाचनको तयारीमा एमाले, आजदेखि दुईदिने राष्ट्रिय भेला सुरु
सात इन्जिनियर सरकारी सेवाबाट हटाइए
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : किन हुदैछ दुई दिनमा सीमित गर्ने तयारी
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन