काठमाडौं, २ मंसिर । नेकपा (एमाले)को दुईदिने राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ। आगामी स्थानीय तहको निर्वाचनको तयारी, पार्टी संगठन परिचालन, राजनीतिक कार्यदिशा र संगठनात्मक एकतालाई मुख्य प्राथमिकतामा राखेर आयोजना गरिएको भेला भोलि मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ।
काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे सुरु हुने भेलाको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ। भेलामा देशभरबाट पार्टीका केन्द्रीय नेतादेखि स्थानीय तहका पदाधिकारी तथा जनप्रतिनिधिसम्म गरी ३ हजार ४१४ जना सहभागी हुने एमालेले जनाएको छ।
एमालेका अनुसार भेलामा पार्टीको केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन्। त्यस्तै, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख र प्रवासी नेपाली मञ्चका प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ।
स्थानीय निर्वाचन मुख्य प्राथमिकता
एमालेले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय भेला आयोजना गरेको हो। पार्टी संगठनलाई निर्वाचन केन्द्रित बनाउने, तल्लो तहसम्म संगठन परिचालन गर्ने र पार्टीका नेता–कार्यकर्ताबीच साझा धारणा निर्माण गर्ने भेलाको प्रमुख उद्देश्य रहेको एमाले नेताहरूले बताएका छन्।
पार्टी उपमहासचिव लेखराज भट्टका अनुसार भेलामा राष्ट्रिय राजनीतिक अवस्थाको समीक्षा, स्थानीय निर्वाचनको तयारी र पार्टीले आगामी दिनमा गर्नुपर्ने कामका विषयमा छलफल हुनेछ।
मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकले भेलामा प्रस्तुत गरिने एजेन्डा तथा कार्यपत्र अनुमोदन गरेको थियो। गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरूको कार्यान्वयनमा एकरूपता कायम गर्ने विषयलाई पनि भेलाले प्राथमिकता दिनेछ।
त्यस्तै, पार्टीले आगामी दिनमा गर्नुपर्ने १५ वटा महत्त्वपूर्ण कामका विषयमा छलफल गरी संगठनात्मक तथा राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने तयारी एमालेको छ।
शीर्ष नेताहरूले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्ने
राष्ट्रिय भेलामा एमालेका शीर्ष नेताहरूले समसामयिक राजनीतिक परिस्थिति, पार्टीको भावी कार्यदिशा, कम्युनिस्ट आन्दोलन, संसदीय संघर्ष र संगठन सुदृढीकरणका विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक अवस्था, पार्टीको भावी कार्यदिशा र आगामी दिनमा एमालेले गर्नुपर्ने कामबारे कार्यपत्र प्रस्तुत गर्नेछन्।
त्यस्तै, वरिष्ठ नेता विद्यादेवी भण्डारीले मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको कार्यभारका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम छ।
उपाध्यक्ष रामबहादुर थापाले कम्युनिस्ट आन्दोलन र संसदीय संघर्षका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् भने अर्का उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वको सरकारका पालामा भएका विकास निर्माणका कामको तथ्यांकसहित विवरण प्रस्तुत गर्नेछन्।
महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण र संगठन सुदृढीकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।
राजनीतिक परिस्थितिको समीक्षा र संगठन सुदृढीकरण
पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीको भूमिका, जनतामा देखिएको निराशा र बदलिँदो राजनीतिक वातावरणलाई कसरी सम्बोधन गर्ने भन्ने विषय पनि भेलाको छलफलमा समेटिनेछ। एमालेले मुलुकमा देखिएको कुशासन र निराशालाई चिर्दै नयाँ आशा र ऊर्जा सञ्चार गर्ने लक्ष्य भेलाले लिएको जनाएको छ।
गत भदौमा भएको जेनजी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमले नेपालको राजनीतिक परिदृश्यमा परिवर्तन ल्याएको छ। त्यसयता एमालेले आफ्नो संगठनात्मक अवस्था, राजनीतिक भूमिका र आगामी रणनीतिबारे समीक्षा गरिरहेको छ। यस्तो अवस्थामा हुन लागेको राष्ट्रिय भेलालाई पार्टीको आन्तरिक एकता र भावी राजनीतिक रणनीति निर्धारणका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
भेलाबाट नयाँ राजनीतिक निर्णय गर्नेभन्दा पनि पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने, केन्द्रीय तहबाट भएका निर्णयलाई तल्लो तहसम्म कार्यान्वयन गर्ने र आगामी निर्वाचनका लागि संगठन परिचालन गर्ने विषयमा जोड दिइने एमाले नेताहरूले बताएका छन्।
भेलापछि केन्द्रीय कमिटी बैठक
एमालेले राष्ट्रिय भेला सम्पन्न भएलगत्तै केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ। मंसिर ४ गते बस्ने केन्द्रीय कमिटी बैठकमा भेलाबाट प्राप्त सुझाव, पार्टीका आगामी कार्यक्रम तथा संगठनात्मक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
देशभरका नेता, कार्यकर्ता र जनप्रतिनिधिलाई एउटै मञ्चमा सहभागी गराएर आयोजना गरिएको एमालेको यो राष्ट्रिय भेलाले पार्टीको आगामी राजनीतिक दिशा, संगठन परिचालन र स्थानीय निर्वाचनको तयारीलाई कसरी अघि बढाउँछ भन्ने चासो राजनीतिक वृत्तमा देखिएको छ। भेलाबाट आउने निष्कर्ष र त्यसको कार्यान्वयनले एमालेको आगामी राजनीतिक गतिविधिको दिशा निर्धारण गर्नेछ।











आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, सरकारसँग माग्यो जवाफ
काठमाडौं-तराई/मधेस फास्ट ट्र्याकको महादेवटार सुरुङ छिचोलियो, राष्ट्रपति पौडेलको उपस्थितिमा ब्रेक थ्रु
सात इन्जिनियर सरकारी सेवाबाट हटाइए
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : किन हुदैछ दुई दिनमा सीमित गर्ने तयारी
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन