विराटनगर, ५ मंसिर । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको क्रममा दुई देशबीच थाती रहेका सबै विषय हल गर्न सुझाव दिएका छन् । साहले नेपाल भारतबीच ऐतिहासिक सम्बन्ध रहँदै आएको उल्लेख गर्दै उनले प्रधानमन्त्री शाहलाई भ्रमणमा ऐतिहासिक सम्बन्धको महत्वलाई अझै उचाईंमा पुर्याउनेगरि फलदायी बनाउन सुझाव दिएका हुन् ।
आज (शनिबार) विराटनगरमा अग्रगामी मोर्चाले आयोजना गरेको भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री शाहलाई भारतसँग द्धिपक्षीय व्यापारलाई बढावा दिन र भारतसँग रहेको ठूलो व्यापार घाटाको खाडल पुर्नेगरि कदम चाल्न पनि आग्रह गरेका हुन् । उनले भने,“भारतसँग हाम्रो ऐतिहासिक सम्बन्ध छ, यो सम्बन्धलाई अझै उचाईंमा पुर्याउनुपर्छ । भारतसँगको सम्बन्धमा व्यापार मुख्य कुरा हो, अहिले भारतसँग हाम्रो एकदमै ठूलो व्यापार घाटा छ, यसलाई कम गर्नेगरि नयाँ सम्झौता गर्न आवश्यक छ ।”
सो क्रममा उनले देश अहिले गम्भीर संकटमा रहेको टिप्पणी गरे । सबै क्षेत्र संकटको घडीबाट गुज्रिरहेकोले सबैको गम्भीर ध्यान जानुपर्ने आवश्यकत्तासमेत उनले औंल्याए । देशका मुख्य मुख्य पिल्लरहरु नै हल्लिएको र कामयाबी हुन नसकेको उनको भनाई छ । सुरक्षा संयन्त्र आँफै आन्तरिक विवादमा फसेको, न्यायालयको नूर गिरेको, कर्मचारीतन्त्रमा आतंक सिर्जना भएको र संवैधानिक निकायहरु आफैमा भय र त्रासमा बाँचिरहेको औंल्याउँदै यस्तो अवस्थाले देशलाई नै असफल बनाउने खतरा रहेको साहको विश्लेषण छ ।
आफ्नै दलको नेतृत्वमा सरकार बनेको ८ महिना व्यतित हुँदापनि रास्वपाको मूल नेतृत्वले भने सरकारलाई स्वाभाविक सहयोग नगरेको अध्यक्ष साहको आरोप छ । उनले रवि लामिछानेले वालेन शाहलाई सत्ताबाट गलहत्याउन प्रपञ्च रचिरहेको र लगातार पूराना दलका असफल नेताहरुसँग साजिस गरिरहेको दाबी गरे । रास्वपासँग राजनीतिक सहकार्य गर्नु स्वयम वालेन्द्र शाहको लागि पनि प्रतित्युत्पादक हुनसक्ने उनको आँकलन छ ।
उनले वालेन्द्र शाहको व्यक्तित्व र राजनीतिक छवि तुलनात्मक रुपमा स्वच्छ रहेको भएपनि रास्वपाको नेतृत्व पंक्तिको छविमा दाग रहेको टिप्पणी गरे । रास्वपामा सबै दलमा असफल भएका, बिग्रिएका, अवसरको खोजीमा रहेकाहरु थुप्रिएको उनको भनाई छ । उनले रास्वपा पार्टी अहिले भ्रष्टाचारी, दुराचारी र अत्याचारीहरूको ओत लाग्ने थलो बनेको आरोप लगाए ।
अध्यक्ष साहले देशलाई असफलताबाट बचाउनको लागि अहिलेको सिस्टममा नै आमूल सुधार गरिनुपर्ने विकल्प सुनाए । खराब व्यवस्थाको कारण देशले बाटो बिराएको र दशकौंदेखि दुःख भोगेको भन्दै साहले तत्काल संविधान खारेज गरेर अन्तरिम संविधान बनाउनुपर्ने आवश्यकता औंल्याए । खराब व्यवस्थाको कारण खराबभन्दा पनि खराब बेथितिको शिकार देश र जनता बन्नुपरेको उनको बुझाई छ । नेपालमा सबैखाले आन्दोलन सम्झौतामा टुँग्गिएको कारण आन्दोलनको उद्देश्य पूरा नभएको साहको भनाई छ ।











प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : यी हुन मुख्य एजेन्डा
मधेशको मुख्यमन्त्रीमा सरोज यादव नियुक्त
विस्तृत शान्ति सम्झौताका २० वर्ष : १६ सरकार फेरिए, पीडितको न्याय अझै अधुरै
जनकपुर–अयोध्या रेल सेवा प्रत्येक शनिबार र सोमबार सञ्चालन हुने, १० स्थानमा व्यावसायिक स्टपेज
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन